काठमाडौं, २८ जेठ । नक्कली भुटानी शरणार्थी सम्बन्धी चर्चित मुद्दामा केही उच्च राजनीतिक तथा सरकारी पदाधिकारीहरूलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता गरेको छ।
आज कार्यालय समय सकिने बेलामा न्यायाधीशले उक्त निवेदन दर्ता गर्ने निर्णय गरेका हुन्। बहसका क्रममा जाहेरवालातर्फका वकिलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्याशुन्दर शाक्य, अजयक्रान्ति शाक्य, कांग्रेस नेतृद्वय आरजु राणा र मञ्जू खाणलगायतलाई पक्राउ गरी बयान लिन माग गरेका थिए।
उक्त मागप्रति प्रतिवादी पक्षका वकिलहरूले आपत्ति जनाएपछि इजलासमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
त्यसपछि जाहेरकर्तातर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन पेस गरेका थिए। निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम लिएको पर्याप्त प्रमाण अदालतमा पेस भइसकेको दाबी गरिएको छ। साथै, उनीहरूलाई झिकाएर बकपत्र गराउन समेत माग गरिएको छ।
त्यसैगरी प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्नुपर्ने माग पनि निवेदनमा उल्लेख गरिएको छ। प्रारम्भमा न्यायाधीशले निवेदन दर्ता गर्न अस्वीकार गरे पनि अदालत समय सकिन लाग्दा अन्ततः दर्ता गरिएको बताइएको छ।
जाहेरकर्ताका कानूनी प्रतिनिधि स्वागत नेपालका अनुसार उक्त निवेदनमाथि भोलि बहस हुने तयारी छ।








