Logo

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन, नेपालमा सुरुङमार्ग युगको औपचारिक सुरुआत



काठमाडौं, ११ साउन । मुलुककै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतको उपस्थितिमा बिहान १०:२५ बजे सुरुङमार्ग उद्घाटन गरिने कार्यक्रम रहेको छ।

उद्घाटनपछि निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ। केही दिन सुरक्षा र ट्राफिक व्यवस्थापनको परीक्षणपछि सबै प्रकारका अनुमति प्राप्त सवारीसाधनका लागि सुरुङमार्ग खुला गरिनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्न कुनै शुल्क लाग्ने छैन। नियमित सञ्चालनपछि कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ भने ठूला बस र ट्रकका लागि क्रमशः २६० र २०० रुपैयाँ शुल्क लाग्नेछ। भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइएको छ।

सुरक्षाका दृष्टिले पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा डिजेल, पेट्रोल, ग्यासलगायत ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश गर्न निषेध गरिएको छ। आयोजनामा मुख्य सुरुङसँगै आकस्मिक उद्धारका लागि छुट्टै सुरुङसमेत निर्माण गरिएको छ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको सुरुङमार्गमा अत्याधुनिक सिसिटिभी, दमकल प्रणाली, अक्सिजन आपूर्ति, सञ्चार सुविधा तथा आपत्कालीन उद्धार प्रणाली जडान गरिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकबाट धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलासम्म फैलिएको २ हजार ६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो बाटो र ट्राफिक जामबाट राहत मिल्ने तथा यात्राको समय झण्डै एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

जापान सरकारको २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो आयोजना कोरोना महामारी तथा प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्