काठमाडौं, ८ जेठ । नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अस्ती पाँच गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बिहान ११:३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि)मार्फत नेताहरुलाई पठाउने तयारी छ । गत मंसिर २७–२९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो । फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।
यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरुलाई विभागहरुका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ ।








