Logo

झापाको नेपाल-भारत सीमा क्षेत्रमा लगाइएको चिया खेती हटाइयो



झापा, ३० जेठ । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी क्षेत्रमा नेपाल–भारत सीमाको दशगजाभित्र लगाइएको चिया खेती शुक्रबार नेपाली र भारतीय सुरक्षा निकायको संयुक्त टोलीले हटाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी विजय चौहानका अनुसार नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रबीच रहेको ११४ नम्बर सीमा स्तम्भ नजिक सुनकोशी चिया बगानका ६५ वटा चियाका बोट दशगजा क्षेत्रमा परेको पाइएपछि हटाइएको हो। दशगजा क्षेत्र खाली राख्नुपर्ने प्रावधानअनुसार उक्त कदम चालिएको उनले बताए।

दशगजा क्षेत्र अतिक्रमणमुक्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती टोली उक्त क्षेत्रमा परिचालन गरिएको थियो।

यसैबीच, नेपाल–भारत सीमा व्यवस्थापन तथा सीमासम्बन्धी विषयमा शुक्रबार बिर्तामोडमा द्विपक्षीय फिल्ड सर्भे बैठक सम्पन्न भएको छ। बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाली टोलीको नेतृत्व गरेका थिए भने भारतीय टोलीको नेतृत्व किशनगञ्जका जिल्ला अधिकारी विशाल राजले गरेका थिए।

नापी विभाग काठमाडौंको आयोजनामा भएको बैठकमा इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू, भारतीय एसएसबीका सीमावर्ती जिल्लाका अधिकारीहरू तथा जिल्ला वन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्