काठमाडौं, २५ जेठ । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तय भएको यस बैठकमा मुख्य रूपमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि बजेटमाथि सदनमा सामान्य छलफल सुरु हुनेछ भने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले आजै विभिन्न महत्त्वपूर्ण विधेयकहरू समेत सदनमा प्रस्तुत गर्नेछन्।
उनले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसद्मा पेस गर्ने कार्यसूची छ।
आजको बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीहरू पनि पेस हुने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।








