काठमाडौं, १८ जेठ । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर प्रकृतिको भएकाले त्यसबारे सदनमा स्पष्टीकरण दिन आवश्यक रहेको बताइन्।
उनका अनुसार प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिनु उपयुक्त नभएको र परराष्ट्र मन्त्रालयले पछि त्यसलाई ‘सीमापार अतिक्रमण’ को सन्दर्भमा व्याख्या गरेको बताइन्। उनले प्रधानमन्त्रीको भनाइ र मन्त्रालयको धारणा फरक रहेको जिकिर गर्दै यस विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गरिन्।
ओलीले नेपालले भारतको सीमा मिचेको भन्ने कुरा तथ्यले पुष्टि नगर्ने दाबी गर्दै सीमावर्ती क्षेत्रमा देखिने सीमापार अतिक्रमणको विषयलाई फरक रूपमा बुझ्नुपर्ने बताइन्।
त्यसैगरी, आरेन राईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले उक्त भनाइ अपरिपक्व रहेको टिप्पणी गर्दै यसले देशभित्र र बाहिर अनावश्यक बहस सिर्जना गरेको बताए।
उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले छिमेकी मुलुकलाई नेपालको भूमि सम्बन्धी विषयमा थप दाबी गर्ने वातावरण बनाउन सक्ने आशंका उत्पन्न गरेको छ।
विपक्षी दलका नेताहरूले यो विषयलाई सामान्य रूपमा लिन नहुने भन्दै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो धारणा स्पष्ट गर्नुपर्नेमा जोड दिएका छन्।








