काठमाडौं, ९ साउन । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को स्वकीय सचिवालयमा हाल २७ जना नियुक्त रहेको खुलासा भएको छ।
प्रतिनिधिसभाकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त जानकारी दिएको हो।
कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) र राजनीतिक सल्लाहकार अशिम साहलाई मन्त्रीसरह सेवा–सुविधासहित नियुक्त गरिएको छ।
यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारलाई राज्यमन्त्रीसरह सेवा–सुविधा उपलब्ध गराइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
मन्त्री तथा राज्यमन्त्रीसरह सुविधा प्राप्त सचिवालयका सदस्यहरूलाई सरकारी सवारीसाधन र चालकको सुविधा समेत प्रदान गरिएको छ।
सांसद थपलियाले प्रधानमन्त्रीको सचिवालयमा नियुक्त सदस्यहरूको संख्या, जिम्मेवारी तथा सेवा–सुविधाबारे विवरण माग गरेकी थिइन्। त्यसको लिखित जवाफमा प्रधानमन्त्री कार्यालयले हाल सचिवालयमा २७ जना कार्यरत रहेको तथा कानुनी व्यवस्थाअनुसार अधिकतम ४८ जनासम्म नियुक्त गर्न सकिने जनाएको छ।






