काठमाडौं, २८ असार । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
शनिबार दिउँसो करिब ४ बजे बुंगल नगरपालिका–विजगडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च २६४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा १६ यात्रुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।
दुर्घटना भएकै दिन गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा अवतरण गर्न नसकेपछि हेलिकोप्टर सदरमुकाम चैनपुरमा रोकिएको थियो। मौसम अनुकूल भएपछि आइतबार बिहान ६ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको हो।
जिल्ला अस्पताल बझाङका अनुसार हर्का देवी महता, जयमती देवी महता, देवबहादुर धामी, रामबहादुर महता (४८), रामबहादुर महता (३५) र झल्का देवी महतालाई विशेषज्ञ उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। उनीहरूमध्ये केहीको टाउको, मेरुदण्ड, कम्मर र श्रोणीमा गम्भीर चोट लागेको छ भने केहीको हातखुट्टामा हड्डी भाँचिनुका साथै खुला फ्र्याक्चर भएको अस्पतालले जनाएको छ।
यता धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र दीपेन्द्र जाग्रीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनीहरूको प्लास्टरसहित आवश्यक उपचार गरी जिल्ला अस्पतालमै निगरानीमा राखिएको छ।
त्यसैगरी हासुली देवी महता र वीरबहादुर जाग्रीको पनि जिल्ला अस्पताल बझाङमै उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जिल्ला अस्पताल बझाङकी मेडिकल अधिकृत डा. प्रतिमा भण्डारीले जानकारी दिएकी छन्।






