काठमाडौं, ८ भाद्र । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेको पूर्वसन्ध्यामा सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीभित्रको तीव्र ध्रुवीकरणका कारण राप्रपाका दुई फरक समूहले आफ्ना सांसदहरूलाई बिल्कुलै विपरीत दिशाका दुईवटा ह्विप (निर्देशन) जारी गरेपछि अन्योल र राजनीतिक तरंग उब्जिएको छ।
राप्रपाकी बागमती प्रदेश प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई स्पष्ट निर्देशन दिएकी छन्। विपक्षमा मतदान गर्न असजिलो हुने सांसदहरूलाई बैठकमा अनुपस्थित रहन वा तटस्थ बस्न भनिएको छ।
अर्कोतर्फ, खानेपानी मन्त्री राजु विष्ट लगायत सरकार समर्थित पक्षले कुमारी तामाङलाई सरकार गठन अघि नै प्रमुख सचेतकबाट हटाइसकिएको दाबी गरेका छन्। सोही अनुसार, प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले भदौ ७ गतेको निर्णय र दलका नेताको आदेश बमोजिम मुख्यमन्त्री थापालाई अनिवार्य उपस्थित भई विश्वासको मत दिन अर्को निर्देशनात्मक ह्विप जारी गरेका छन्।
पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत सरकार गठन प्रक्रियामा सहभागी भई मुख्यमन्त्रीलाई समर्थन गरेको अभियोगमा राप्रपा केन्द्रीय समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यताबाट निलम्बन गरी सांसद पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा सिफारिस गरिसकेको छ।
यसैगरी, पार्टी निर्देशन तोडेर बागमती सरकारमा मन्त्री बनेका तीन जना सांसदहरू (राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ) लाई केन्द्रीय अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जवाफ नआएमा उनीहरूलाई निष्कासन गरी सभामुख र निर्वाचन आयोगमा पत्र पठाउने पार्टीको रणनीति छ।
मुख्यमन्त्री किरण थापालाई बहुमत सिद्ध गर्न ५३ सांसदको समर्थन आवश्यक पर्दछ। तर, राप्रपा भित्र जारी यो दोहोरो ह्विप र सम्भावित ‘फ्लोर क्रस’ वा अनुपस्थितिले बागमती प्रदेश सरकारको भविष्य र गणितलाई अत्यन्त पेचिलो बनाएको छ।






