काठमाडौं, ८ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई सांसद तथा मन्त्री पदबाट हटाउन सिफारिस गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनीहरूलाई पदमुक्त गर्न निर्वाचन आयोग र बागमती प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।
केन्द्रको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै राप्रपाले यसअघि संसदीय दलका नेता उद्धव थापामाथि कारबाही गरिसकेको थियो। एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि थापालाई पार्टीले कारबाही गरेको हो।
त्यसैगरी, सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। तर, तीनैजनाले स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरूलाई सांसद र मन्त्री पदबाट हटाउन सिफारिस गरिएको हो।
उनीहरूमाथि थप कारबाहीका लागि अनुशासन आयोगको बैठकसमेत बसिरहेको छ। आयोगले उनीहरूको पार्टी सदस्यता निलम्बन गर्न सक्ने सम्भावना रहेको बताइएको छ।
यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। सरकार जोगाउन राप्रपाको भूमिका निर्णायक देखिएको छ। राप्रपाका दुई सांसदले मात्रै समर्थन गरे पनि सरकार सुरक्षित हुने अवस्था रहेको बताइएको छ।
यता, राप्रपाका दुई सचेतकले विश्वासको मतको विषयमा पक्ष र विपक्षमा मतदान गर्न अलग–अलग ह्वीप जारी गरेका छन्। यसले बागमती प्रदेशमा राप्रपाभित्रको विवाद थप रोचक बनेको छ।






