काठमाडौं, २४ भाद्र । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २३–२४ गते भएको हिंसा र विध्वंसलाई सामान्य जनआक्रोश नभई लोकतान्त्रिक व्यवस्था र संविधानको कोर्स उल्ट्याउने योजनाबद्ध प्रयास भएको बताएका छन् ।
भदौ २४ को घटनाको एक वर्ष पुगेको अवसरमा अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा उनले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरू तथा प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।
अध्यक्ष ओलीले शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको र त्यसपछि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद्, सर्वोच्च अदालत तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको आगजनी र आक्रमण पूर्वनियोजित भएको उल्लेख गरे । उनले घटनाको वास्तविक छानबिन तथा सुरक्षा निकायको भूमिकाबारे प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले विध्वंसका दोषीलाई उन्मुक्ति दिइएको र अनुसन्धान तथा अभियोजन रोकिएको भन्दै दण्डहीनता, राजनीतिको अपराधीकरण र हिंसालाई वैधता दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले लोकतन्त्रमा असन्तुष्टि र माग राख्ने अधिकार सुरक्षित भए पनि सरकार परिवर्तनका लागि संवैधानिक र शान्तिपूर्ण बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने स्पष्ट पारेका छन् । साथै, लोकतन्त्र, संविधान, राष्ट्रिय हित र शान्तिको रक्षाका लागि लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच सहकार्य गर्न अपिल गरेका छन् ।






