Logo

भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, असार १ देखि इलामका ५३ उद्योग बन्द हुने



इलाम, ३१ जेठ । भारत सरकारले नेपाली चिया आयातमा नयाँ तथा जटिल प्रक्रिया लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भण्डारण क्षमता भरिएको र उत्पादन बिक्री हुन नसकेको भन्दै आगामी असार १ गतेदेखि आफ्ना ५३ वटा उद्योग बन्द गर्ने निर्णय गरेको जनाएको छ।

एसोसिएसनका अनुसार भारतीय बजारमा पठाइएको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणको प्रक्रियामा रोकिएको छ भने उद्योगहरूमा थप ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको अवस्थामा छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरी तयारी चिया उत्पादन भए पनि बजारमा बिक्रीको बाटो बन्द हुँदा उद्योग सञ्चालन गर्न कठिन भएको बताए। भण्डारणका लागि पर्याप्त स्थानसमेत अभाव भएपछि उद्योग बन्द गर्नु बाध्यता बनेको उनको भनाइ छ।

भारतले मे १, २०२६ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपालबाट निर्यात हुने प्रत्येक खेपको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता लैजानुपर्ने नियम पनि लागू गरिएको छ।

उद्योगी गोपाल कट्टेलले यो प्रक्रियाले नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना गरेको बताउँदै सरकारले तत्काल कूटनीतिक पहल नगरे अर्बौं रुपैयाँ बराबरको बजार गुम्न सक्ने चेतावनी दिए।

उद्योग बन्द हुने निर्णयसँगै हजारौँ चिया किसान प्रभावित हुने भएका छन्। एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९९५ किसान चियाखेतीमा आबद्ध छन्। ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चियाबारीबाट वार्षिक करिब २ करोड किलो हरियोपत्ती उत्पादन हुँदै आएको छ।

यसैबीच, सूर्योदय नगरपालिकाले भारतीय अवरोध हटाउन उच्चस्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छ। भारतीय चिया बोर्डले कोलकातास्थित गोदामहरूमा पुगेर नेपाली चियाको प्रत्येक बोराबाट नमुना संकलन गरिरहेको भए पनि एक साताभन्दा बढी समय बित्दा समेत परीक्षण प्रतिवेदन सार्वजनिक नभएको जनाइएको छ।

नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले ढिलासुस्तीपूर्ण प्रक्रियाका कारण नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तरमा असर पुग्ने जोखिम बढेको बताए।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गरेको छ। वार्षिक सवा ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटा जिल्लामा उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्