काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको ३६औँ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरेर चाँडो सफाइ लिनुपर्ने बताएका हुन्।
उनले मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनलाई अत्यन्त महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गर्दै यसले विभिन्न विषय उजागर गरेको उल्लेख गरे। साथै, प्रतिवेदनलाई कार्यान्वयन गर्ने दिशामा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले उक्त प्रतिवेदन नेपालभित्र मात्र सीमित नरहने र संयुक्त राष्ट्रसंघसँग आबद्ध अन्तर्राष्ट्रिय संघसंस्थाको अभिलेखमा समेत रहने भएकाले यसलाई हल्का रूपमा लिन नहुने बताए।
उनका अनुसार विगतमा मानव अधिकार उल्लंघनमा दोषी ठहर भएका व्यक्तिहरूमाथि विभिन्न देशहरूले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका उदाहरणसमेत रहेका छन्। त्यसैले प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूले कानुनी प्रक्रिया अपनाएर सफाइ लिन ढिलाइ गर्न नहुने उनले बताए।
कार्यक्रममा उनले सरकारले प्रतिवेदन कार्यान्वयनतर्फ आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।
त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गरे।








