Logo

याक्सनमा बालेन सरकार: १२ कर्मचारी ट्रेड युनियन खारेज, अध्यादेशपछि वैधानिकता समाप्त



काठमाडौं, २३ वैशाख । सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

दर्ता खारेज हुने युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत विभिन्न राजनीतिक दल निकट संस्थाहरू रहेका छन्। साथै नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको पनि दर्ता रद्द गरिएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनसमेत खारेजीमा परेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै निजामती सेवा ऐनअन्तर्गत ट्रेड युनियनसम्बन्धी प्रावधान हटाएका थिए। उक्त व्यवस्था खारेज भएसँगै यी ट्रेड युनियनहरूको वैधानिक आधार समाप्त भएको हो।

विभागका अनुसार मूल ऐनकै व्यवस्था हटेपछि श्रम ऐनअन्तर्गत दर्ता भएका युनियनहरू स्वतः खारेजको अवस्थामा पुगेका हुन्। पञ्जिकाधिकारीको निर्णयअनुसार बुधबारदेखि उनीहरूको दर्ता औपचारिक रूपमा रद्द गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्