काठमाडौं, ३० भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले रवि लामिछानेले प्रस्ताव गरेअनुसार सर्वदलीय संयन्त्र गठन नभएको विषयमा प्रश्न उठाएका थिए । प्रतिपक्षी दलका नेताहरूबाट समेत प्रश्न उठेपछि लामिछानेले पुनः सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि लामिछानेले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक बोलाइसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदेखाएपछि लामिछानेले आफैं बैठकको पहल गरेका थिए ।
भदौ १६ गते बसेको बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए । उक्त बैठकमा भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भएको थियो । बैठक रास्वपाको दलको कार्यालय सिंहदरबारमा बसे पनि लामिछाने भने सहभागी भएका थिएनन् ।
यसअघि भदौ ११ गते लामिछानेको अध्यक्षतामा बसेको पहिलो सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरलगायत सहभागी थिए ।
बैठकमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट, प्रभावित नागरिकको उद्धार तथा राहत र त्यसको दीर्घकालीन समाधानका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।






