Logo

राप्रपाभित्रैबाट एजेन्डा कमजोर पार्ने प्रयास भयो : लिङ्देन



काठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका राजसंस्था र हिन्दु राष्ट्रका एजेन्डालाई पार्टीभित्रकै केही नेताहरूले कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी आफ्नो मूल सिद्धान्तमा अडिग रहँदा केही नेताहरूले त्यसलाई प्रभावहीन बनाउने काम गरेको बताए।

उनले राप्रपा आफ्नो विचार र सिद्धान्तबाट विचलित नहुने स्पष्ट पार्दै पार्टीभित्र कुनै द्विविधा आवश्यक नरहेको उल्लेख गरे। विगतका नेतृत्व र पार्टीको इतिहास गौरवपूर्ण भए पनि सुधार गर्नुपर्ने धेरै पक्षहरू रहेको उनको भनाइ थियो।

पुराना शैली र अभ्यासलाई निरन्तरता दिँदा पार्टी फुट्ने-जोडिने क्रम दोहोरिने खतरा रहने भन्दै लिङ्देनले व्यक्तिगत अहंकार र आन्तरिक द्वन्द्वका कारण पार्टी र देश दुवै संकटमा परेको दाबी गरे।

अध्यक्ष लिङ्देनले आगामी मङ्सिर २६, २७ र २८ गते महाधिवेशन गर्ने प्रस्ताव गरिएको जानकारी दिँदै उक्त महाधिवेशनले देशलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गरे।

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक तोरणबहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धी निर्देशिका तथा सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली प्रस्तुत गरेका छन्। त्यस्तै, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन बैठकमा पेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्