काठमाडौं, १४ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा अब नयाँ ढङ्गबाट अघि बढ्दै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताएका छन्।
राप्रपा रुपन्देहीको सातौँ जिल्ला अधिवेशनलाई आइतबार भैरहवामा सम्बोधन गर्दै लिङ्देनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी राप्रपाको काँधमा आएको दाबी गरे। राप्रपाको सफलता वा असफलता केवल एउटा पार्टी वा नेतासँग मात्र नभई देशकै सफलता र असफलतासँग जोडिएको उनको भनाइ थियो।
उनले राप्रपा नयाँ सोच र शैलीका साथ अघि बढिरहेको सन्देश जनतामाझ पुर्याउनुपर्नेमा जोड दिए। जेनजी आन्दोलन भएको एक वर्ष पुग्न लाग्दासमेत जनताको मन शान्त हुन नसकेको भन्दै उनले मुलुक अझै अन्योल र अनिश्चितताको अवस्थामा रहेको बताए।
लिङ्देनले अहिले देश ठूलो र अँध्यारो सुरुङभित्र प्रवेश गरेजस्तो देखिएको टिप्पणी गरे। देश अझै राजनीतिक रूपमा स्थिर अवस्थामा फर्किन नसकेको र अनिश्चितताको बादल बाक्लिँदै गएको उनको भनाइ थियो।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले सरकारमा जाने वा नजाने विषय अहिले राप्रपाको प्राथमिकता नभएको स्पष्ट पारे। पार्टी कुनै पनि सत्ताकेन्द्रित गतिविधिमा सहभागी नहुने निर्णयमा रहेको उनले बताए। यद्यपि, राप्रपा सधैँ सरकारबाहिर रहने पार्टी नभएको र भविष्यमा सरकारमा जाने निर्णय पार्टीले आवश्यकताअनुसार गर्ने उनको भनाइ थियो।
बागमती प्रदेश सरकारमा राप्रपाका सांसद सहभागी भएको विषयमा पनि उनले पार्टीको निर्णय र निर्देशन पालना गर्नुपर्ने बताए। पार्टीका सांसदले नै पार्टीको निर्देशन नमाने दलीय व्यवस्था कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न उनले गरे।
आफूले राप्रपाको नेतृत्व सम्हालेपछि पार्टीलाई पहिलो वा दोस्रो ठूलो शक्ति बनाउन नसके पनि आफ्नो कुनै निर्णयका कारण नेता–कार्यकर्ताले शिर झुकाउनुपर्ने अवस्था नआएको लिङ्देनले दाबी गरे। सही ढङ्गले काम गरे निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री तथा प्रतिनिधिसभा सदस्य ताहिर अलि भाटले गत प्रतिनिधिसभा निर्वाचनअघि नै राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न सकेको भए पार्टीको अवस्था फरक हुने दाबी गरे। उनले रुपन्देहीमा राप्रपा बलियो राजनीतिक शक्तिका रूपमा रहेको बताए।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मुक्तिनाथ यादव ‘भोला’ले स्वागत तथा सहसचिव शङ्कर खत्रीले सञ्चालन गरेका थिए।






