Logo

राप्रपा सांसद पदमुक्त नभएको भन्दै ज्ञानेन्द्र शाहीको अपिल



काठमाडौं, ९ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भन्दै प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

शाहीले पार्टीले सम्बन्धित सांसदमाथि कारबाहीका लागि बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको भन्दै निवेदन दिँदैमा सांसद पदमुक्त नहुने स्पष्ट गरेका छन् ।

उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसद पदमुक्त भएको भनेर प्रचार गर्नु उचित नहुने बताएका छन् ।

शाहीले पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउँदा पार्टी कमजोर हुने टिप्पणी गरेका छन् । पार्टीले कारबाही प्रक्रिया अघि बढाउन सक्ने भए पनि कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मान्न नसकिने उनको भनाइ छ ।

उनले सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएको उल्लेख गर्दै उनीहरूको पदको आधार जनताको मत रहेको बताएका छन् ।

“भावनामा होइन, तथ्यमा बोलौँ । गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,” शाहीले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्