झापा, १८ जेठ । रामकुमार आछामी स्मृति अक्षयकोष, अर्जुनधारा नगरपालिका झापाले शिक्षक, कर्मचारी तथा विद्यार्थी सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा अर्जुनधारा नगरस्तरीय कक्षा ८ को परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा गणेश आधारभूत विद्यालयकी रितिका गिरी, सिंहदेवी माध्यमिक विद्यालयका ओम विक्रम न्यौपाने, लक्ष्मी माध्यमिक विद्यालयका हृदयेन्द्र किरण नेपाल तथा शनिश्चरे माध्यमिक विद्यालयकी कक्षा १२ की प्रिया सापकोटा रहेका छन्।
त्यसैगरी, उत्कृष्ट प्रधानाध्यापकका रूपमा सरस्वती आधारभूत विद्यालयका टेकबहादुर बुढा क्षेत्री तथा उत्कृष्ट शिक्षकका रूपमा नवदुर्गा आधारभूत विद्यालयकी कल्पना राजवंशी र जनता माध्यमिक विद्यालयका युवराज निरौला सम्मानित भएका छन्।
कार्यक्रममा उपस्थित अतिथिहरूले सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउन शुभकामना व्यक्त गरेका थिए।
सांस्कृतिक प्रस्तुतिअन्तर्गत लिजा र निसा परियारले नृत्य प्रस्तुत गरेका थिए भने लक्ष्मी रिजालले कविता वाचन गरेकी थिइन्।
कार्यक्रममा अक्षयकोषका संस्थापक खड्गबहादुर गोलले स्वर्गीय रामकुमार आछामीको जीवन, व्यक्तित्व र शिक्षा क्षेत्रमा पुर्याएको योगदानबारे प्रकाश पारेका थिए। आछामीको २०७५ चैत ९ गते काठमाडौंबाट फर्कने क्रममा भएको सवारी दुर्घटनामा निधन भएको थियो।
दीपक भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए। चन्द्रकला भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कमल पौडेलले गरेका थिए।








