काठमाडौं, २३ साउन । आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भावुक अभिव्यक्ति दिएका छन्।
शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।
उनले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुनसक्ने उल्लेख गर्दै लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।’
प्रधानमन्त्री शाहले आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउनेसमेत बताएका छन्। उनले भनेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन।’
प्रधानमन्त्री शाहले यस्तो अभिव्यक्ति दिएको दिन शुक्रबार नै प्रतिनिधिसभा बैठकमा सत्तारुढ रास्वपाका सांसद मनिष झाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। झाले राज्य सञ्चालनमा सरकारले अपेक्षाअनुसार ढंग पुर्याउन नसकेको टिप्पणी गरेका थिए।






