काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीमा रिक्त रहेका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी पूर्ति गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री तथा सहप्रवक्तासहितका पदमा मनोनयन गरेको हो।
बैठकले जगदीश खरेललाई पार्टीको प्रवक्तामा मनोनित गरेको छ। त्यस्तै डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
यसैगरी पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनित गरिएको छ भने ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।
बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिने निर्णयसमेत गरेको छ। पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले विभिन्न जिम्मेवारीमा पदाधिकारी तथा नेताहरूलाई मनोनयन गरिएको रास्वपाले जनाएको छ।
यद्यपि पार्टीमा अझै केही पद रिक्त छन्। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पदमा भने मनोनयन हुन बाँकी रहेको छ। ती पदमा आगामी बैठकबाट जिम्मेवारी तोक्ने तयारी रहेको बताइएको छ।






