Logo

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै: मोदीसँग पनि भेटको सम्भावना



काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज सोमबार भारत प्रस्थान गर्दैछन्। उनी भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नबिनको निमन्त्रणामा जेठ १८ देखि जेठ २२ गतेसम्म भारतमा रहनेछन्।

भाजपाले जारी गरेको विज्ञप्तिअनुसार यो भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच ‘पार्टी–टु–पार्टी’ सहकार्य सुरु गर्नु रहेको छ। भ्रमणका क्रममा दुवै दलबीच संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक कार्यशैलीका विषयमा अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलले भाजपाका अध्यक्षसहित अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेट हुन सक्ने स्रोतले जनाएको छ।

भ्रमण टोलीमा रास्वपा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सह–महामन्त्री तथा सांसद बिपिन आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुनेछन्।

भ्रमणका क्रममा भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा अयोध्याको व्यक्तिगत भ्रमण गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ।

भ्रमणलाई राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ भने नेपाल–भारत सम्बन्धका पछिल्ला संवेदनशील घटनाक्रमबीच यसलाई थप चासोका साथ अवलोकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्