Logo

वर्षासँगै धान रोपाइँले गति लिने अपेक्षा, हालसम्म ५० प्रतिशत सम्पन्न

झापामा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न, मल अभावले किसान चिन्तित



काठमाडौं, ३१ असार । देशभर यस वर्ष हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो।

कृषि विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत धान रोपाइँ सकिएको थियो। तर यस वर्ष मनसुनको प्रभाव र मौसमीय अवस्थाका कारण हालसम्म ५० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेश ८७ प्रतिशत रोपाइँसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। कोशी प्रदेशमा ३२ प्रतिशत र मधेस प्रदेशमा ३२.७ प्रतिशत मात्र रोपाइँ भएको छ।

विभागका अनुसार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले आगामी एक साताभित्र धान रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ। बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझ तीव्र हुने विश्वास विभागको छ।

झापामा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न, मल अभावले किसान चिन्तित

असार महिना सकिन लाग्दा झापामा करिब ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार सोमबारसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो भने त्यसयता यो प्रतिशत केही बढेको छ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष पनि धान रोपाइँ भइरहेको छ। मौसम अनुकूल रहेकाले रोपाइँले अपेक्षित गति लिएको उनले बताए।

झापामा कुल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो।

यद्यपि, रोपाइँको मुख्य समयमा किसानहरूले पर्याप्त रासायनिक मल नपाउँदा खेतीपातीमा समस्या भएको छ। मौसमले साथ दिए पनि मलको अभावले उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्