Logo

संविधानको रक्षाका लागि संविधान पक्षधर शक्तिहरु एक ठाउँ उभिनुपर्छ : अध्यक्ष ओली



काठमाडौं, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक व्यवस्थाको रक्षाका लागि संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको बताए । उनले राज्यका संवैधानिक तथा संस्थागत संरचनामाथि हस्तक्षेप भइरहेको र गैरराजनीतिक तथा प्रोफेसनल व्यक्तिको चयनका नाममा थप राजनीतिकरण भएको टिप्पणी गरे ।

“गतवर्ष राज्यका प्रमुख धरोहरहरुमाथि विध्वंशकारी आक्रमणको दुःखद् घटनापछि नेपालको संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै गम्भीर सङ्कट पैदा गरिएको छ । जननिर्वाचित सरकार र प्रतिनिधिसभा गैरसंवैधानिक तरिकाले विघटन गरिएपछिको असामान्य अवस्थामा भएको निर्वाचनबाट बनेको सरकार संविधान र कानूनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको छ ।” अध्यक्ष ओलीले भने, “राज्यका संवैधानिक र संस्थागत संरचनाहरुलाई स्वेच्छाचारिताको बुटले कुल्चिरहेको छ । राज्यका विभिन्न अङ्गहरुमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको छ । जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने नीति बनाएर स्वेच्छाचारी ढङ्गले अन्धाधुन्द राजनीतिक नियुक्ति दिने काम गरिरहेको छ । यसबाट लोकतान्त्रिक राज्यको संवैधानिक मान्यतामाथि प्रहार भएको छ ।”

अध्यक्ष ओलीले वर्तमान सरकारले नेपाललाई भू–राजनीतिक द्वन्द्वको ‘क्रिडास्थल’ बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुसार काम गरिरहेको अनुभूति भएको उल्लेख गरेका छन् । यस्तो अवस्थाले संविधानको रक्षाको प्रश्नलाई थप गम्भीर बनाएको उनको भनाइ छ ।

“वर्तमान सरकारले नेपाल राज्यलाई भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भइरहेको छ । यसले पनि संविधानको रक्षाको प्रश्न गम्भीर र महत्वपूर्ण विषय बन्न पुगेको छ । मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरु एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु पर्ने भएको छ ।” अध्यक्ष ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस्