Logo

‘सबै ठीकठाक देखिए पनि जुनसुकै बेला आगो बल्न सक्छ’- गगन थापा



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट राजनीतिक अवस्था सामान्य देखिए पनि जनआक्रोश र असन्तुष्टि भने नघटेको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले नेपाली समाजमा ठूलो अविश्वास, बेचैनी र निराशा रहेको बताए। उनले अहिलेको अवस्था शान्त देखिए पनि सानो घटनाले समेत ठूलो जनउभारको स्थिति सिर्जना गर्न सक्ने चेतावनी दिए।

थापाले चुनाव सम्पन्न भएको, नयाँ सरकार बनेको र दुई तिहाइको बहुमत रहेकाले राजनीतिक अवस्था सामान्यजस्तो देखिए पनि जनताका असन्तुष्टिका मूल कारण अझै सम्बोधन हुन नसकेको बताए। ‘झट्ट हेर्दा शान्त छ, तर यस्तो होइन,’ उनले भने, ‘सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ।’

उनका अनुसार नेपाली समाजमा अहिले पनि ठूलो फ्रस्टेसन र असन्तुष्टि कायम छ। चुनावमार्फत नयाँ राजनीतिक शक्ति आए पनि जनताको असन्तुष्टिका कारण समाधान नभएकाले जुनसुकै बेला फेरि जनउभारको अवस्था आउन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्