Logo

सरकारप्रति जनआक्रोश बढेको दाबी गर्दै प्रचण्डले भने– ‘आन्दोलनमा जानुपर्ने आवश्यकता छ’



काठमाडौं, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारलगायतका चाडपर्वपछि सरकारविरुद्ध बृहत् आन्दोलन अघि बढाउने तयारी भइरहेको बताएका छन्।

अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे। उनले सरकारका गतिविधिविरुद्ध विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको जानकारी दिए।

प्रचण्डका अनुसार संसद्‌भित्र रहेका विपक्षी दलहरूलाई समेत एक ठाउँमा ल्याएर सरकारका विषयमा संयुक्त रूपमा आवाज उठाउने प्रयास भइरहेको छ। उनले सरकारमाथि सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनसँग आबद्ध आन्दोलनकारीमाथि दमन र ज्यादती गरेको आरोप लगाए।

सरकारविरुद्ध व्यापक प्रतिरोधका लागि विभिन्न समूह तथा शक्तिलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ।

चाडपर्वको अवधिलाई समेत आन्दोलनको तयारीका लागि उपयोग गर्ने बताउँदै प्रचण्डले दशैं–तिहारपछि मुलुकको परिस्थिति हेरेर थप कार्यक्रम अघि बढाउने बताए।

उनले भने, “चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।”

सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले आन्दोलनका लागि जिम्मेवारीपूर्वक र फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्