
झापा, १४ असार । तीव्र शहरीकरणसँगै सुरक्षित, व्यवस्थित र भूकम्प प्रतिरोधी भवन निर्माणलाई प्राथमिकतामा राख्दै झापाको बिर्तामोड नगरपालिकाले घर नक्सा शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ।
नगरपालिकाको घर नक्सा शाखामार्फत घर नक्सा स्वीकृति, जग्गा नापजाँच तथा प्रमाणीकरण, स्थल निरीक्षण र भवन अभिलेखीकरणलगायतका सेवा नियमित रूपमा प्रदान हुँदै आएका छन्। शाखामा हाल दुई इन्जिनियर, एक सब–इन्जिनियर, एक नगर निरीक्षक, दुई सर्भेयर र एक कार्यालय सहयोगीसहित सात जना कर्मचारी कार्यरत छन्।
शाखा प्रमुख इन्जिनियर डा. रजत अग्रवालका अनुसार नेपाल सरकारको मापदण्डअनुसार प्राविधिक परीक्षण, नक्सा स्वीकृति, निर्माणाधीन भवनको निरीक्षण तथा अभिलेखीकरणका कार्य नियमित रूपमा सञ्चालन भइरहेका छन्।
नगरपालिकाको तथ्यांकअनुसार नगर गठनअघि अनारमनी र बिर्तामोड नगर विकास समितिबाट करिब दुई हजार नौ सय भवनको नक्सा स्वीकृत भएको थियो। हालसम्म २०८३ साल जेठ मसान्तसम्म आठ हजार सात सय ३३ भवनले नक्सा पासको प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने थप करिब पाँच हजार भवन नक्सा स्वीकृतिको प्रक्रियामा रहेका छन्।
नगरपालिकाले नक्सा स्वीकृति नलिई भवन निर्माण गर्ने तथा अभिलेखीकरण नगरी भवन प्रयोग गरिरहेका घरधनीलाई कानुनी प्रक्रियामा आउन आग्रह गरेको छ। शाखाका अनुसार भवन अभिलेखीकरण नगरे स्थानीय तहबाट प्रदान गरिने केही सेवा लिन तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न समेत कठिनाइ हुन सक्छ।
स्वीकृत नक्साभन्दा फरक संरचना निर्माण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नगरपालिकाले नियमित अनुगमनलाई तीव्र बनाएको छ। नियम उल्लङ्घन गर्नेले पहिलो पटक १० प्रतिशत र दोस्रो पटक २० प्रतिशतसम्म थप दस्तुर तथा जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ।
नगरपालिकाले घर निर्माण सुरु गर्नुअघि अमिनमार्फत जग्गाको नापजाँच गराउन पनि आग्रह गरेको छ। यसबाट जग्गाको वास्तविक सीमा यकिन हुनुका साथै बाटो तथा सिमानासम्बन्धी विवाद न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
व्यवस्थित शहरी विकास, सुरक्षित तथा भूकम्प प्रतिरोधी भवन निर्माण र कानुनी मापदण्डको प्रभावकारी कार्यान्वयनलाई लक्ष्य बनाउँदै बिर्तामोड नगरपालिकाको घर नक्सा शाखाले सेवा प्रवाह र प्राविधिक अनुगमनलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ।





