Logo

भारतले जित्यो १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप

फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजीत



काठमाडौँ, १५ असार । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधी भारतले उचालेको छ । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको हो ।

फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि माथी कव्जा जमाएको हो ।

भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि चुम्नबाट भने वञ्चित हुन पुग्यो ।

अन्तिम ५ ओभरअघिसम्म खेल दक्षिण अफ्रिकाको पक्षमा ढल्किएको थियो। १५ औं ओभरमा २४ रन जोडेपछि उसलाई बाँकी ६ ओभरमा मात्रै ३० रन चाहिएको थियो। तर लगातार खराब ब्याटिङ गर्दा उपाधि गुमाउन पुग्यो।

अन्तिम ओभमा १६ रन आवश्यक रहे पनि उसले मात्रै ८ रन बनायो। त्यसअघिका ४ ओभरमा मात्रै १४ रन जोड्दा उपाधि कठिन बन्दै गयो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे ।

भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए ।  अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए।  अक्षर पटेलले ३१ बलमा ४७ रन बनाउँदै भारतको रन उकासेका थिए।

सुरुमै धमाधम विकेट गएपछि दबाबमा परेको भारतलाई विराटले नै सम्हालेका थिए।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्