काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोकेको जहाज पोखराबाट भैरवा एयरपोर्टका लागि उडेको छ।
भिजिबिलिटी नपुगेका कारण कास्की एयरपोर्ट पोखरामै अड्किएका रविलाई बोकेको जहाज केही बेरअघि भैरहवाका लागि उडेको हो ।
सम्भावित विरोधलाई पनि ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रविलई बिहान ५ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको थियो ।
तर गौतमबुद्ध विमानस्थल भैरहवाको भिजिबिलिटी कम हुँदा लामिछानेलाई पाँच घण्टा पोखरा एयरपोर्टमा राखेपछि केहीबेरअघि लगिएको हो ।
भैरवामा भिजिबिलिटी नभएका कारण प्रहरीले लामिछानेलाई कास्कीमै राखेको थियो । अहिले रविसहितका यात्रु बोकेको जहाज भैरहवाका लागि उडेको रास्वपा प्रवक्ता मनिष झाले बताउनुभयो ।
लामिछानेलाई २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।
रविलाई रुपन्देही लाने थाहा पाएपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शन गरिरहेका छन् ।
गत कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ गरिएका लामिछानेलाई अदालतबाट चारपटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।