Logo

उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द



उदयपुर , २९ माघ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिनुभयो ।

उद्योगका निमित्त महाप्रबन्धक साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उहाँले भन्नुभयो उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।

उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरू कार्यरत रहेका छन् । उनीहरूले पाँच महिना देखी तलव समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखी कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोड भन्दा माथी भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अरब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने निमित्त महाप्रबन्धक महेश साहले बताउनु भयो । वहाँले भन्नु भयो; अहिले रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाई गर्दै अदालतले उद्योगका सबै बैङ्क खाता रोक्का गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्