काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीअन्तर्गत सञ्चालन गरेको जिल्ला अधिवेशन हालसम्म ५६ जिल्लामा सम्पन्न गरेको जनाएको छ। बाँकी जिल्लाहरूमा निर्वाचन प्रक्रिया जारी रहेको, केही स्थानमा स्थगित भएको तथा केही जिल्लामा अधिवेशन सुरु हुन बाँकी रहेको पार्टीले जनाएको छ।
रास्वपाका केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीका अनुसार देशभरका ७७ जिल्लामध्ये ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। १२ जिल्लामा विभिन्न प्राविधिक कारणले रोकिएको निर्वाचन प्रक्रिया पुनः अगाडि बढाइएको छ भने एक जिल्लामा अधिवेशन स्थगित र पाँच जिल्लामा अझै सुरु हुन बाँकी छ।
पार्टीले जेठ २३ गतेदेखि देशव्यापी रूपमा जिल्ला अधिवेशन सुरु गरेको थियो। सोही कार्यतालिकाअनुसार जिल्ला अधिवेशनपछि मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशनको औपचारिक सुरुवात हुने भएको छ।
रास्वपाका प्रवक्ता मनीष झाले हालसम्म सम्पन्न अधिकांश जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत चयन भइसकेको जानकारी दिए। उनका अनुसार केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने विशेषगरी मधेश प्रदेशका केही जिल्लामा मतदान प्रक्रिया जारी छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। लुम्बिनी प्रदेश भने सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको रास्वपाले जनाएको छ।
पार्टीले वडा र पालिका तहको अधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र जिल्ला अधिवेशनमार्फत संगठनलाई तल्लो तहदेखि थप सुदृढ र संस्थागत बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ। पार्टी नेतृत्वले प्रत्यक्ष नेतृत्व चयनको प्रक्रियालाई आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवन मा आयोजना हुने तय भएको छ। पार्टीले महाधिवेशनलाई आन्तरिक लोकतन्त्र सुदृढीकरण तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।








