Logo
  कार्तिक १, २०७८ सोमबार

महिलामाथि हुने यौन दुर्व्यवहार र हिंसा कहिले होला अन्त्य ?



यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण । उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी । आत्महत्या कि हत्या ? सोसल मिडियामा सविताको मृत्यु बहसको विषय बनेको छ । सविता ससुराबाट दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सविताको माइती पक्षले ससुरा, आमाजु र श्रीमानलाई यौन दुव्र्यवहार, मानसिक र शारीरिक यातना दिने आरोप लागाएका छन् ।

यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुव्र्यवहार आदि उनको मृत्युको खास कारण देखिन्छन् । प्रहरी प्रशासन अनुसन्धानमा लागेको छ । हत्या हो भने हत्यारालाई कानुन बमोजिमको कारवाही हुन्छ । र, आत्महत्या भए नि आत्महत्या गर्नु किन बाध्य बनाइयो ? हत्या आत्महत्या जे भएपनि दोसीले सजाय पाउनुपर्छ भन्ने आवाज उठेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता ह्वात्तै बढेसँगै फेसबुकमा अपलोड गरिएको एक भिडियोले पछौटे जीवन बिताइरहेको राउटे समुदायका युवतीको पहिचान नै बद्नाम भएको छ । मदिरा सेवन गरेर मातिएका युवाले भिडियो खिच्दै उनीहरलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । घटना सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध भएको छ । राउटे बस्तीमा फोटो र भिडियो खिच्न जानेहरुका कारण ति युवकसँग बढेको चिनजानको मूल्य आफ्नो अस्तित्व गुमाउन चुकाउनुपर्छ भन्ने उनीहरुले सोचेका थिए होलान र ? प्रहरीले तीन जना युवालाई पक्राउ त गर्यो, तर युवतीले आफुमाथि भएको दुव्र्यवहार नै पहिचान गर्नै सकेका छैनन् । न त आफुमाथि शोषण भयो भनेर आवाज नै उठाएका छन् ।

महिला भएकै कारणले कतिबेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको सन्त्रासमा बाँचिरहेका छन् महिला । केही महिला हिंसाका घटना मात्रैले पनि यो प्रष्ट हुन्छ । साथीको घरमा पढ्न गएकी निर्मला पन्तको बलात्कार पछि हत्या गरियो, सप्तरीमा बाह्र बर्षीया बालिका बलात्कृत भइन्, स्कुल गएकी भगिरथा भट्टको बलात्कार पछि हत्या भयो, एसिड आक्रमणमा परिन मुस्कान खातुन, भारतमा एक विद्यार्थीको प्रेमीबाट खोसेर बलात्कार गरियो पछि उनको मृत्यु भयो । यसले महिला हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि गरिहेको छ ।

२१ औं शताब्दीमा पनि महिला वस्तुको रूपमा बेचिने गरेका छन् । भारतमा नेपाली बाटै सञ्चालित कोठीमा नेपाली चेली बेचिने गरेका समाचार आइरहेका छन् । हाम्रो समाजमा महिला शोषण र उत्पीडन सहेर बाँच्नु परिरहेको छ । फितलो कानुनका कारण महिला राज्य प्रशासनबाटै सुरक्षित छैनन् । आफ्नै घर परिवार नातेदार तथा छरछिमेकमा नै सुरक्षित छैनन् । घर बाहिर सुरक्षित छैनन्, स्कुल, कलेज, बजार, आफन्त भन्नेबाट नै सुरक्षित छैनन् । बुबा, काका, मामा, दाजभाइ, साथिसंगी, हाकिम, शिक्षक कतै सुरक्षित छैनन् महिला ।

चार वर्षका बालिकादेखि हजुरआमाको उमेरका महिला बलात्कारमा परेका घटनाहरू दिनहुँ जसो पढ्नुपर्ने हाम्रो नियति नै बनिसकेको छ । यस्ता घटनाहरू पढिरहँदा लाग्छ अहिले मानव सभ्यता कतै उल्टो दिशातर्फ त जाँदै छैन ? आजकल मानवीय संवेदना हराउँदै र कठोर बन्दै गएको छ । र, त यस्ता अमानवीय र कल्पना भन्दा पनि परका घटना हरेक दिन जसो भइरहेका छन् । छोरीहरू जन्मनु भन्दा अगाडि देखि नै सुरक्षित छैनन् । जन्मिसके पछि पनि पाइलै पिच्छे त्रास, डर, भयबाट मुक्त भई स्वच्छन्द बाँच्न सक्ने स्थिति छैन ।

घटना भएको केहीसमय देशभर चौतर्फीरुपमा महिला अधिकारकर्मी लगायत सम्पूर्ण नागरिकले न्यायको लागि आवाज उठाएता पनि प्रशासनको अटेरिपन भनौ या, मिलेमतो भनौ या फितलो अनुशन्धान प्रणालीका कारणले घटना सेलाएर जान्छन् । अनि कहाँ सुरक्षित हुने महिला ? यस्ता घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना हाम्रो समाजमा प्रतिदिन बढ्दो छ । कति घटना सार्वजनिक हुन्छन् त कति घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर र चेतनाको अभाव आदिको कारणले बाहिर आउँदैनन् ।

नेपाल प्रहरीको तथ्याङ्कले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा आठ हजारभन्दा बढी बलात्कार, झन्डै ६० हजार घरेलु हिंसाका घटनाहरू दर्ता र तीन हजार एक सय भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ ।

विशेषतः छोरीका सन्दर्भमा नेपाली समाज झन् झन् असुरक्षित बन्दै गएको पाइन्छ । हिंसा, हत्या, बलात्कार, सामूहिक बलात्कारका घटना न्यूनीकरण हुनुको साटो अझ नयाँ शैली, प्रकृति र स्वरूपमा बढ्दै गएको अवस्था छ । हाम्रो समाजका पुरुष जातिको सोचाइ किन यति सारो हिंस्रक र आपराधिक बन्दै गएको हो ? यो अत्यन्त गम्भीर चिन्ताको विषय हो ।

एकातर्फ सूचना तथा सञ्चार प्रविधिको विकाससँगै विश्व जगत् एउटा स्वचालित जस्तै बन्दै गएको छ भने अर्कोतर्फ मानव सभ्यता तीव्र गतिमा परिवर्तन भइरहेको छ । हाम्रो समाज धेरै आयामबाट विकसित भएको छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक लगायत सबै क्षेत्रमा व्यापक उथलपुथल र परिवर्तन आएको कुरालाई नकार्न सकिँदैन । कुनै समय पतिको मृत्यू पश्चात जिउँदै सती जानु पर्ने कहाली लाग्दो परम्परा समयको गतिसँगै मेटिएर गएका छन् । छोरीलाई शिक्षामा जोड दिन थालिएको छ । महिला मुलुकको उच्चपद र ओहदामा रही जिम्मेवारी निभाइरहेका छन् । तर, दुःखका साथ भन्नु पर्छ महिलालाई हेर्ने दृष्टिकोणमा भने कत्तिपनि परिवर्तन हुन सकेको छैन । तितो यथार्थ यही हो ।

छोरीहरू कहिलेसम्म कमजोर भइरहने ? हामीले यदि चासो राख्ने हो भने हरेक पाइला पाइलामा महिलालाई होच्याउने, हर्यास्मेन्ट गर्ने र पछाडिबाट उछितो काढ्ने प्रवृत्ति पुरानै हो र आजसम्म पनि त्यो हट्न सकेन । एउटा अब्बल अनि राष्ट्र र समाजको लागि जिम्मेवारी बोकेर योगदान गरिरहेको सशक्त महिला किन नहोस् उसको जिम्मेवारीको खुलेर प्रशंसा गरी थप उत्प्रेरित गर्न यो समाज तत्पर देखिँदैन बरु सकेसम्म उसका कमजोरीहरू खोज्न लागि परिरहन्छ यहाँ जकडिएर रहेको कथित पितृसत्ता । जुन संस्कार हाम्रो पुर्खादेखि नै विरासतमा प्राप्त पुरुषवादी सत्ताको उपहार नै होला शायद ।

पछिल्लो समयमा देशमा वढिहरेको महिला हिंसा, बलात्कार लगायतका घटनाहरूको रोकथाम गर्न देशको राज्य संयन्त्र संवेदनशील हुनुपर्छ । छोरीलाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन हुन जरुरी छ । महिलालाई वस्तु सरह व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । पुरुषवादी सोच, शैली संस्कार, व्यवहार, प्रवृत्ति, मनोवृत्तिमा रहेको हिंस्रक मनोविज्ञानमा सुधार हुनुपर्छ । अनि जब समाज र पुरुष सत्ताले छोरीमा दरिलो भविष्य देख्न सक्छ, भरोसा र विश्वास गर्न सक्छ यस प्रकृतिका हिंसाजन्य घटनाहरूको स्वतः न्यूनीकरण हुँदै जानेछ ।

महिलामाथि हुने हिंसाको प्रतिकार गर्न स्वयं महिला नै सक्षम र सशक्त हुनु पर्ने मान्यता राख्दै यस्ता अमानवीय क्रियाकलाप प्रतिरोध गर्न महिलालाई नै सक्षम बनाउनु जरुरी छ । यो एउटा विकल्प त होला तर अन्तिम अस्त्र भने हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्