Logo

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री



काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने, “विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।”

उनले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए । “सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्