Logo
  बैशाख ४, २०८१ मंगलबार

सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाइने घोषणा



काठमाडौँ, ६ जेठ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आव २०८०÷०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका छन् ।

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ । कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

पर्यटन ऐन समयानुकूल
पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार गरी अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यको विस्तारमा जोड दिइने छ ।

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने नीति कार्यक्रममा जनाइएको छ । प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाई विश्व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यका रूपमा नेपालको ब्राण्डिङ गरिनेछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिनेछ ।

नयाँ हिमाल खुल्ला गरिने
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने घोषणा गरेको छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने जनाइएको छ ।

साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्ट योगदान पु¥याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ‘सगरमाथा विशेष सम्मान’ प्रदान गरिनेछ । सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनुका साथै हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने जनाइएको छ । पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रका रूपमा विकास, संरक्षण र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्