Logo

बिर्तामोड-२ मा मनाइयो राष्ट्रिय धान दिवस



बिर्तामोड, १५ असार । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप भएको छ । सहरिया नयाँ पुस्तालाई मात्र होइन, ग्रामीण भेगका कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ शब्द नौलो बनेको छ ।

ग्रामीण भेगका गाउँबस्तीमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठी परम्पराका बारेमा अनभिज्ञ छन् । ग्रामीण क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गरिन्थो । वर्षौँअघिदेखि चल्दै आएको बेठी रोपाइँको चलन अहिले एकादेशको कथाजस्तो भएको छ ।

यसैबीच बिर्तामोड नगरपालिका वडा नम्बर २ र उज्यालो चारपाने बाल क्लबको आयोजना तथा बालबालिका तथा शिक्षा सञ्चार मञ्चको व्यवस्थापन र बिर्तामोड कृषि शाखाको समन्वयमा राष्ट्रिय धान दिवस २०८० मनाइएको छ ।

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर आज बिर्तामोड-२ चारपानेमा बेठीसहित धान दिवस मनाइएको हो ।

धान रोपाइँ कार्यक्रममा ६२ वटा बाल क्लबसहित विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, अभिभावक, नगरपालिका तथा वडाका जनप्रतिनिधि तथा कर्मचारीलगायत सयौंको सहभागीता रहेको थियो । धान रोपाइँसँगै दहीच्युरा खाएर नाचगानसहित असार १५ मनाइएको हो ।

बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं रहेकी थिइन् ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रसाईं, वीर अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी, बिर्तामोड शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, न्युटन एजुकेशनका प्रधानाध्यापक देबेन्द्र हुमागाई, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतले आ-आफ्ना धारणा राखेका थिए ।

उज्यालो चारपाने बाल क्लबकी अध्यक्ष एलिना तिम्सिनाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्