Logo
  आश्विन १०, २०८० बुधबार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ



काठमाडौँ, ७ भदौ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधवार पक्राउ परेका छन् । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीका अनुसार विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने र त्यसको लागि प्रतिव्यक्ति रु छ लाख ५० हजार लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक रु ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु एक लाख ५० हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आज सामाखुसीबाट पक्राउ पक्राउ गरिएको बताए ।

यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

निजले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसको लागि रु आठ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाइ निज पीडितबाट पटकपटक गरी जम्मा रु चार लाख २५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्