Logo

सरकारले ल्याएको शिक्षा विधेयक सच्याउनैपर्छ: भण्डारी



काठमाडौँ, १० असोज । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् ।

सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझीकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिरसमेत गरेका थिए ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुनेसमेत बताए ।

उनले चिकित्सकहरूमाथि हातहात हुनु अत्यन्तै दु:खद भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानुन बनाउनुपर्ने बताए । उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्कसमेत गरेका थिए ।

पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाइ थियो ।

उनले भने, ‘अहिले यो विकृतिको सबैभन्दा चरम सीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ । तेस्रो मुलुकको मूलतत्व के हो भन्ने कुरा नबुझेको पनि देखिन्छ । अहिले डाक्टरहरु जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरुमाथि हातपात हुनु अन्यन्त दुखद् कुरा हो । दोस्रो कुरा शिक्षासम्बन्धी जुन विधेयक आइरहेको छ । यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । सरकारले सम्बन्धित निकायसँग कुरा नगरीकन हतारमा पेश गर्‍यो । त्यसकारणले टिचरहरुले आन्दोलन गरे । अब नेपालको शिक्षा नबनीकन त नेपाल बन्दैन ।’

प्रतिक्रिया दिनुहोस्