Logo

रुस-युक्रेन युद्ध: तीन नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक



रुस, १३ मंसिर । रुस-युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ ।

रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो ।

रुसी सेनालाई हवाला दिँदै नेपाली दूतावासले स्याङ्जाको पुतलीबजार नगरपालिका-५ ठूलास्वाँराका पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका-६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका-५ का गंगाराज मोक्तानको ज्यान गएको जनाएको छ ।

नेपाली दूतावासले रुसी सेनामा कार्यरत उनीहरुको ज्यान कुन अवस्थामा गएको भन्ने जानकारी भने उल्लेख गरेको छैन । दूतावासले ज्यान गुमाएकाका परिवारलाई घटना बारे जानकारी दिन र शवको व्यवस्थापनका लागि सहजिकरण गरिदिन नेपालमा रहेको कन्सुलर सेवा विभागलाई अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले घटनाको बारेमा जानकारी लिने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । रुस युक्रेनबीच २०७८ साल फागुन १२ गतेदेखि युद्ध चलिरहेको छ । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् भने झण्डै १० हजार मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्