Logo

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात



सांकेतिक तस्बिर

लुम्बिनी, १३ मङ्सिर । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा.बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा.बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

लुम्बिनी चिकित्सक सङ्घका सचिव डा.सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्