Logo

तामाङ समुदायको उत्पीडनको कथा, नाटक ‘मासिन्या’



काठमाडौँ, १३ माघ । तामाङ समुदायले भोगेको उत्पीडन र विभिन्न सामाजिक मस्यालाई समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ नियमित मञ्चन भइरहेको छ । थापागाउँस्थित मण्डला थिएटरमा यही माघ २८ गतेसम्म चल्ने छ । नाटकमा विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेपलाई प्रस्तुत गरिएको लेखक राजु स्याङ्तानले बताए ।

“नाटकले सुन्दर तामाङबस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा प्रस्तुत गर्छ, हामीले कथा र कवितामार्फत आवाज उठाउँदै आएका थियौँ, त्यो पर्याप्त नभएपछि नाटक तयार गरेका हौँ”, लेखक स्याङ्तानले भने । उनले मौलिकता बोकेको माटो, पीडाको कथा भन्न नाटकको माध्यम रोजेको बताए ।

अर्का लेखक लक्ष्मी रुम्बाले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे जानकारी दिए । लेखक रुम्बाले भने,“तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि यसले टेवा पुग्ने विश्वास छ, यस नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ, नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न पाउनुहुनेछ ।”

नाटकको निर्देशक तथा परिकल्पनाकार अभिनेता बुद्धि तामाङ र सोनाम लामा छन् । यसमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय गरिरहेका छन् । करिब ६० प्रतिशत तामाङ कलाकार रहेको नाटक डेढ घण्टाको छ ।

प्रतिक्रिया दिनुहोस्