Logo

स्वास्थ्यमा सुधार देखिएपछि सांसद नेम्वाङलाई आइसियुबाट वार्डमा सारियो



काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो ।

अस्पतालका अनुसार वार्डमा सारेर उनको फिजियोथेरापी मार्फत उपचार हुँदैछ । पूर्व मन्त्रीसमेत रहेका नेम्वाङ अझै बोल्न नसकेको अस्पतालले जनाएको छ ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्य रहेका उनी माघ १७ गते ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुन त्यहाँ पुगेको समयमा ब्रेन स्ट्रोक भएको थियो । ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनलाई हेलिकप्टरमार्फत ललितपुरस्थित नेपाल मेडीसिटी हस्पिटलमा पुर्‍याइएको थियो । टाउकोको देब्रेतर्फको नसा फुटेर पछि शल्यक्रिया गरिएको थियो ।

नेम्वाङकी श्रीमती भूमिका सुब्बाले नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिइन् । उनले चिकित्सकको सल्लाह अनुसार अन्य बाहिरी सङ्क्रमणबाट जोगाउन परिवारका केही सदस्यबाहेक अन्यलाई भेटघाटमा अस्पतालले रोक लगाएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्