Logo

इजरायली बमबारीमा २५ प्यालेस्टिनीको ज्यान गयो



गाजा, २८ माघ । दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

घटनामा दर्जनौं घाइते भएका प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ । बम विस्फोटको समयमा धेरै विस्थापित उक्त घरमा बसिरहेका बताइएको छ ।

रफाहका मेयर अहमद अल-सुफीले भने, “रफाहमा हालैका घण्टामा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन् । पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजाबासी बसिरहेको एक घर निशानामा परेको छ ।”

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यम वाफाले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन् ।

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल-हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्