Logo
  फाल्गुन १०, २०८० बिहीबार

माओवादी केन्द्रले सहरी क्षेत्र र तराई-मधेशमा विशेष अभियान सञ्चालन गर्ने



काठमाडौँ, २९ माघ । नेकपा (माओवादी केन्द्र)ले सहरी क्षेत्र र तराई-मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई-मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई-मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।

यस्तै माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व-पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुन:निर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन् । यस्तै सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । पार्टीका उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमाथि माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल भइसकेको छ ।

यसैगरी माओवादी केन्द्रले सङ्घीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनका मुद्धालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ । त्यसका लागि जनवर्गीय सङ्गठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ । जनवर्गीय सङ्गठन एवं मोर्चाको सम्मेलन गरेर पुन: गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए । यस्तै प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र सङ्गठित गर्ने निर्णय गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा ठूलो परिवर्तन जरुरी रहेकाले सोही अनुसार सरकारले काम गरिरहेको बताएका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमा समेत क्रमभङ्गता गरिने उल्लेख गरेका हुन् ।

अध्यक्ष दाहालले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नै समाजवादको भ्रुण भएकाले सरकार सोही दिशामा केन्द्रीत रहेको स्पष्ट पारेका थिए । सरकारले सुशासन र समृद्धिको पक्षमा इमान्दार भएर प्रयत्न गरेको उनको भनाइ थियो । भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालेको उल्लेख गर्दै अध्यक्ष दाहालले अनियमितता अन्त्य नभएसम्म समाजवादको आधार तयार नहुने स्पष्ट पारेका थिए ।

अभियानमा नखटिनेलाई कारबाही

माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’ मा नखटिने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । अभियानमा नखटिने कार्यक्षेत्रमा नखट्ने कार्यकर्तालाई स्पष्टिकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने पार्टीले निर्णय गरेको छ ।

प्रवक्ता सापकोटाका अनुसार शतप्रतिशत खटिने कार्यकर्तालाई प्रशंसापत्र वितरण गरिने छ । यस्तै, ७५ देखि ८० प्रतिशतसम्म खटिने कार्यकर्तालाई धन्यवादपत्र दिइनेछ । यस्तै, ५० देखि ५५ प्रतिशतसम्म खटिने कार्यकर्तालाई थप परिचालित हुन निर्देशन दिइने छ ।

पन्ध्र प्रतिशतभन्दा कम खटिनेलाई स्पष्टीकरण लिने, निलम्बन गरिनेलगायत कारबाही प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ । यस्तै, विशेष विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशनको तयारीमा जुट्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्