Logo

किसानका समस्या समाधान नगरिए संसद् बैठक अवरुद्ध गर्छौ: अध्यक्ष लिङदेन



काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज, लघुवित्तपीडित र दुग्ध किसानका समस्या समाधान नगरिए संसद्को आउँदो बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

मिटरब्याज र लघुवित्तपीडितले काठमाडौँमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरूलाई खुसी बनाएर फिर्ता पठाउनुपर्नेमा जोड दिएका हुन् । त्यसो नगरिए आफूहरूले संसद् र सडकमा संघर्ष चर्काउने उनले चेतावनी दिए ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरे । उनले मिटरब्याज, लघुवित्तपीडित र दुग्ध उत्पादक किसानको भुक्तानीको विषय सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“सरकारले यो तीनवटा विषयमा मिटरब्याजपीडितहरूको विषयमा, लघुवित्तपीडितहरूको विषयमा र दुग्ध उत्पादक कृषकहरूको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद् अवरुद्ध गर्छ,” उनले भने, “हामीलाई संख्यामा कम भएको कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौँ । तर, यो समस्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् र सडक दुवैतर्फ उभिन्छ ।”

प्रतिक्रिया दिनुहोस्