Logo

टिपरले बस र जिपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु



मोरङ, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् ।

त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२-००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३-क-००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको थियो ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा-७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्