जनताको प्रतिनिधि भएर बिर्तामोड नगरपालिका वडा नं. ७ मा काम गर्ने अवसर पाएपछि यो वडालाई मैले नजिकबाट बुझ्ने अवसर पाएँ। निर्वाचन अगाडि एउटा नागरिकका रूपमा बुझेको बिर्तामोड ७ र जनताको प्रतिनिधि भएर जनताकै बीचमा रहेर बुझेको बिर्तामोड ७ मा धेरै फरक रहेछ। जनताको घरदैलोमा पुग्दा उहाँहरूका समस्या सुन्दा विकासका आवश्यकता बुझ्दा र हरेक दिन वडा कार्यालयमा आउने नागरिकसँग प्रत्यक्ष भेट हुँदा मैले बिर्तामोड ७ लाई अझ गहिरो रूपमा बुझ्ने मौका पाएको छु।
भौगोलिक रूपमा हेर्दा पूर्वतर्फ देउनिया खोला पारि भद्रपुरसँग जोडिएको उत्तर–पूर्वतर्फ बिर्तामोड ६ पश्चिमतर्फ बिर्तामोड ३ र ४ तथा दक्षिण पस्चिम तर्फ बिर्तामोड ८ र ९ सँग जोडिएको बिर्तामोड ७ आफ्नो छुट्टै पहिचान भएको वडा हो। देउनिया खोला रेखा खोला हर्चना खोला र मियाबारी खोलाले यस वडाको भौगोलिक अवस्थालाई प्रभाव पारेका छन्।
जनप्रतिनिधि भएर जनताको बीचमा रहँदा मैले बुझेको सबैभन्दा ठूलो कुरा यहाँको सामाजिक सद्भाव हो। विभिन्न जातजाति समुदाय र धर्ममा आस्था राख्ने नागरिकहरू यहाँ मिलेर बसेका छन्। मठमन्दिर मस्जिद चर्चलगायत विभिन्न धार्मिक आस्थाका केन्द्रहरू यस वडामा छन्। फरक धर्म र समुदाय भए पनि एकअर्काको आस्था र संस्कृतिलाई सम्मान गर्दै मिलेर बस्नु बिर्तामोड ७ को ठूलो विशेषता हो भन्ने मैले महसुस गरेको छु।
बिर्तामोड सहरसँग जोडिँदै गएको भए पनि वडा नं. ७ को ठूलो भूभागमा अझै ग्रामीण जीवन देख्न सकिन्छ। धेरै परिवार आज पनि कृषिमा निर्भर छन्। पछिल्लो समय व्यावसायिक कृषितर्फ आकर्षण बढेको छ। कोही आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्नुभएको छ भने कोही वैदेशिक रोजगारीमा हुनुहुन्छ र कोही दैनिक मजदुरी गरेर परिवार चलाइरहनुभएको छ। त्यसैले यहाँका नागरिकको जीवनसँग जोडिएको विकास भनेको सडक र भवन मात्र होइन रहेछ भन्ने कुरा मैले जनप्रतिनिधि भएर अझ नजिकबाट बुझेको छु।
शिक्षाको क्षेत्रमा पनि वडा नं. ७ मा सामुदायिक तथा निजी विद्यालयसँगै उच्च शिक्षाको अवसर रहेको छ। तर शिक्षालाई अझ गुणस्तरीय बनाउने युवालाई सीपसँग जोड्ने र पढेपछि रोजगारी तथा स्वरोजगारतर्फ लैजाने विषयमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु। वडाको विकासको कुरा गर्दा पछिल्ला वर्षहरूमा सडक तथा भौतिक पूर्वाधार निर्माणले गति लिएको छ। बुट्टाबारी–प्याकुरेल चोक सडकजस्ता गौरवका आयोजना सम्पन्न हुनुका साथै अन्य सडकहरू पनि कालोपत्रे तथा स्तरोन्नति हुँदै गएका छन्। यी कामहरू हुँदा जनताको आवतजावत सहज भएको र वडाको विकासले गति लिएको अनुभूति गर्न सकिन्छ।
हाम्रा लागि अर्को ठूलो समस्या भनेको खोलाको कटान र डुबान हो। देउनिया रेखा हर्चना र मियाबारी खोलामा तटबन्धनका कामहरू हुँदै जानु केवल विकास निर्माणको काम मात्र होइन यहाँका नागरिकको घर खेत र बस्ती जोगाउने काम पनि हो। जनताको समस्या सुन्दा र वर्षायाममा आफैँ ती क्षेत्र पुग्दा यसको वास्तविक पीडा अझ नजिकबाट बुझ्न सकिन्छ। युवाहरूको कुरा गर्दा खेलकुदका लागि सुन्दरडाँडा खेलमैदान र शहीद नेत्र पार्क क्षेत्रको विकासले केही आशा जगाएको छ। युवाहरूलाई खेलकुदसँगै सीप रोजगारी र स्वरोजगारसँग जोड्न सके उनीहरूलाई आफ्नै ठाउँमा केही गर्न सक्ने वातावरण बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
महिलाहरूका लागि सीप विकास तथा तालिमका कार्यक्रम ज्येष्ठ नागरिक सम्मान तथा टोल–टोलमै सामाजिक सुरक्षा भत्ता वितरणजस्ता काम गर्दा जनतासँग प्रत्यक्ष भेट हुने अवसर मिलेको छ। यस्ता कार्यक्रम गर्दा जनताको घरमा पुगेर उहाँहरूका कुरा सुन्न पाइन्छ। कहिलेकाहीँ एउटा सानो समस्या समाधान गरिदिँदा पनि नागरिकको अनुहारमा देखिने खुसीले जनप्रतिनिधिको जिम्मेवारी कति ठूलो रहेछ भन्ने महसुस गराउँछ।
बिर्तामोड ७ मा हात्ती आतङ्क पनि लामो समयदेखि नागरिकले भोग्दै आएको समस्या हो। नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। हात्तीको समस्या समाधानका लागि स्थानीय तह मात्र नभई प्रदेश र संघीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्न आवश्यक छ।
देवीचोक पूर्वतर्फ देउनिया खोलामा माननीय एकराज कार्की ज्युको पहलमा निर्माण हुन लागेको बेली ब्रिज र शहीद नेत्र पार्क जोड्ने पुल निर्माणको विषय पनि वडाको आगामी विकासका लागि महत्वपूर्ण छ। यस्ता योजना पूरा हुन सके नागरिकलाई आवतजावतमा सहज हुनुका साथै आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्नेछ भन्ने मैले बुझेको छु।
जनताको प्रतिनिधि भएपछि मैले अर्को कुरा पनि बुझेको छु। जनताको समस्या एउटै हुँदैन। कसैलाई सडक चाहिएको हुन्छ कसैलाई खानेपानी कसैलाई विद्युत् कसैलाई जग्गाको समस्या हुन्छ भने कसैलाई उपचारको आवश्यकता हुन्छ। कसैको घरमा विपद् परेको हुन्छ भने कसैको परिवारमा दुःख परेको हुन्छ। त्यसैले जनप्रतिनिधिको काम विकास निर्माणमा मात्र सीमित हुँदैन रहेछ। जनताको सुखमा खुसी हुने र दुःखमा साथ दिने जिम्मेवारी पनि जनप्रतिनिधिकै रहेछ।
२०७९ सालको निर्वाचनबाट नेकपा एमालेको तर्फबाट हामी प्यानलसहित निर्वाचित भएपछि जनताको पक्षमा काम गर्ने जिम्मेवारी पायौँ। निर्वाचनपछि हामी आफूहरू जनताका प्रतिनिधि हौँ भन्ने अनुभूति जनतालाई दिलाउने प्रयास गर्दै आएका छौँ। जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई सकेसम्म इमानदारीपूर्वक पूरा गर्ने हाम्रो प्रयास रहँदै आएको छ।
हामीले गरेका विकास निर्माणका कामहरू जनतासँग जोडिएका कार्यक्रमहरू तथा सामाजिक कामहरू सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै आएका छौँ। यसलाई मैले प्रचारभन्दा पनि जनताप्रति आफ्नो कामको जानकारी दिने र आफूले पाएको जिम्मेवारीप्रति जवाफदेही हुने एउटा माध्यमका रूपमा बुझेको छु।वडा कार्यालयबाट सेवा प्रवाहलाई सहज बनाउने र सुशासनमा जोड दिने प्रयास पनि हुँदै आएको छ। आफ्नै भवनबाट सेवा प्रवाह भइरहँदा नागरिकलाई आफ्नो कामका लागि सहज वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो भन्ने कुरामा हामी सचेत छौँ।
वडामा हुने सामाजिक कामदेखि विपद्का बेलामा राहत दुःखमा साथ र घाट निर्माणजस्ता कामसम्म जनताको आवश्यकता जहाँ देखिन्छ त्यहाँ स्थानीय सरकारको उपस्थिति हुनुपर्छ भन्ने मेरो मान्यता हो।बिर्तामोड ७ मा अझै धेरै काम गर्न बाँकी छन्। विद्युत् व्यवस्थापन सडक नाला खानेपानी कृषि शिक्षा स्वास्थ्य खेलकुद रोजगारी खोलाको तटबन्धन भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या हात्ती आतङ्कलगायत धेरै विषयमा निरन्तर काम गर्नुपर्ने अवस्था छ।त्यसैले जनप्रतिनिधि भएपछि मैले बुझेको बिर्तामोड ७ भनेको समस्या नभएको वडा होइन। तर यहाँका समस्या समाधान गर्न सकिने सम्भावना भएको वडा हो। यहाँ मेहनती जनता छन् युवा शक्ति छ कृषि भूमि छ प्राकृतिक सम्पदा छन् धार्मिक तथा सांस्कृतिक विविधता छ र सबैभन्दा महत्वपूर्ण कुरा आपसी सद्भाव छ।मेरो बुझाइमा अबको बिर्तामोड ७ भनेको विकासलाई रोक्ने होइन भएको विकासलाई अझ व्यवस्थित बनाउँदै नयाँ आवश्यकता पहिचान गरेर अगाडि बढ्ने वडा हो। जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने विकास नै वास्तविक विकास हो भन्ने कुरा जनताको प्रतिनिधि भएपछि मैले अझ नजिकबाट बुझेको छु।
अन्ततः जनताको प्रतिनिधि भएपछि मैले बिर्तामोड ७ लाई केवल एउटा वडा भनेर होइन यहाँका हरेक घर हरेक परिवार र हरेक नागरिकसँग जोडिएको एउटा ठूलो जिम्मेवारीका रूपमा बुझेको छु। जनताले दिएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यही विश्वासलाई कायम राख्दै बाँकी समय पनि जनताकै सुख दुःख र आवश्यकतासँग जोडिएर काम गर्नु नै मेरो मुख्य जिम्मेवारी हो।
अविरल कृष्ण खरेल- वडा अध्यक्ष, बिर्तामोड–७ झापा।






