काठमाडौं, २८ साउन । विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
यसअघि उनी यही साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी थियो। तर राति आउँदा स्वागतमा समस्या हुनसक्ने भन्दै उनको स्वदेश फर्किने सयम दुई दिनपछि दिउँसोको लागि सारिएको हो।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन्। त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइएको थियो। त्यसयता उनीहरू कहाँ छन भन्ने खुलाइएको छैन।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यसक्रममा देउवा दम्पत्तिमाथिसमेत आक्रमण भएको थियो। केही समय नेपालमा उपचारपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्केका देउवा ‘फलोअफ’कै क्रममा गत फागुन १३ मा सिंगापुर गएको बताइएको थियो।
देउवा दम्पती सिंगापुरमै रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। तर, उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
कांग्रेसमा असन्तुष्टि चुलिएको बेला पूर्वसभापति देउवा आज स्वदेश फर्किन लागेका हुन्। देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला गर्न लागेको छ। भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। राष्ट्रिय भेलाको सम्मुखमा देउवा स्वदेश फर्किन लागेका हुन्।
सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन हुने तय गरिएको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ।






